नयाँ पत्रिकाकाठमाडौं,
२० माघ 2009-02-03,Tuesday
प्रहरीले 'संगठित र असंगठित गुन्डाका कारण उपत्यकामा अपहरण, जबर्जस्ती रकम असुली बढेको' निष्कर्ष निकाल्दै 'ग्याङ'को सञ्जाल भत्काउन अप्रेसन सुरु गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखा र काठमाडौं परिसरले उपत्यकामा संयुक्त अप्रेसन सुरु गरेका हुन् ।
ग्याङ भत्काउन प्रहरीले तयार पारेको गोप्य रिपोर्ट
अप्रेसन सुरु गर्नुअघि प्रहरीले तयार पारेको गोप्य रिपोर्टमा 'गुन्डाहरूको' संरक्षकको नामसमेत उल्लेख गरिएको छ । उच्च प्रहरी अधिकारीका अनुसार पक्राउ गरी प्रहरी कार्यालयमा ल्याएपछि आउन सक्ने राजनीतिक दबाबको पूर्वमूल्यांकनका आधारमा गुन्डा समूहको संरक्षकको पहिचान गरिएको हो । गुन्डा संरक्षकहरूमा मुख्य राजनीतिक दल, उनीहरूका भ्रातृसंगठन मात्र होइन, उच्च प्रहरी अधिकृतसमेत संलग्न छन् । प्रहरीको अतिगोप्य सूचीअनुसार समूह डीमा रहेको राजु गोर्खाली समूहलाई प्रमुख प्रतिपक्ष कांग्रेस र प्रहरी-प्रशासनका केही व्यक्तिको संरक्षण छ । चाइनिज समूह अहिले गृह मन्त्रालयको जिम्मेवारी पाएको एमालेको संरक्षणमा छ भने समूह एफमा रहेका मीनकृष्ण महर्जन, लायन्स महर्जन, दधि महर्जन र शंकर महर्जनले सत्तामा पुग्ने जुनसुकै पार्टीसँग पनि पहुँच कायम गर्ने गरेको रिपोर्टमा उल्लेख छ । त्यसैगरी, समूह जीमा रहेको चक्रे मिलनको समूहलाई सरकारको नेतृत्व गरिरहेको एकीकृत माओवादी तथा वाइसिएलको संरक्षण रहेको गोप्य सूचीमा उल्लेख छ । तर, चक्रेले भने आफूलाई एमाले समर्थकका रूपमा प्रस्तुत गर्दै आएका छन् । समूह एचमा रहेका राजेश लामा, तेजमान लामालाई भने एमालेको युथफोर्सले संरक्षण गरिरहेको प्रहरीको मूल्यांकन छ ।'अप्रेसन’ र 'गुन्डा’ यस्ता'संगठित र असंगठित गुन्डा'हरूको सञ्जाल भत्काउन अपराध महाशाखाले पिलर चारका प्रमुख एसपी जयबहादुर चन्दको नेतृत्वमा 'एन्टी ग्याङस्टार टिम' नामक स्पेसल समूह नै बनाएको छ । १५ जना प्रहरी राखिएको टिमको नेतृत्व प्रहरी निरीक्षक सोमेन्द्र राठौरलाई दिइएको छ । राठौर हालै संयुक्त राष्ट्रसंघीय शान्ति मिसनबाट फर्किएर महाशाखामा आएका हुन् । महाशाखाले टिमका लागि दुईवटा गाडीसहित आवश्यक सबै साधन-स्रोत उपलब्ध गराएको छ । उता, परिसरले उनीहरूको दैनिकी उतार्नका लागि इन्टेलिजेन्स टोली खटाएको छ । परिसरले इन्टेलिजेन्सको सूचनाको आधारमा बाघे लामा र काजी शेर्पालाई पक्राउ गरी सार्वजनिक मुद्दामा कारबाही अगाडि बढाएको थियो । तीन दिन अगाडि दुवै धरौटीमा रिहा भए । अप्रेसनको पहिलो चरणमा 'उपत्यकामा पैसा उठाइदिएबापत कमिसन लिने, अपहरण गर्ने, ठेक्कापट्टामा आफ्नो पक्षलाई ठेक्का दिलाउने र पैसा/सुपारी लिई कुटपिट र धम्की दिने गुन्डाहरूलाई तह लगाउने अभियान भनिएको छ । यही अभियोगका आधारमा प्रहरीले दुई सयजनाको नामावली तयार पारी आठ समूहमा विभाजन गरेको छ । प्रत्येक समूहलाई अंग्रेजी अल्फाबेटको आधारमा क्षेत्रगत र उनीहरूको काम गर्ने प्रकृतिको आधारमा समूह विभाजन गरिएको छ ।घरमा बसेर सहयोगीहरू परिचालन गरी अपराध गर्ने, कार्यक्षेत्रमा आफैं खटिएर काम गर्ने र सानो-सानो समूहमा रहेका टोले गुन्डाहरूलाई छुट्टाछुट्टै समूहमा विभाजन गरिएको छ ।प्रहरीले प्रत्येक समूहपिच्छे उनीहरूको संरक्षण गर्नेहरूको सूची, उनीहरूको व्यवसाय, प्रायः भेला हुने स्थानको सूचीसमेत तयार पारिसकेको छ । प्रहरीले रिपोर्टमा 'सिन्डिकेट एदेखि एचसम्म नामकरण गरी ६१ जनाको नाम, उनीहरूले गर्ने काम र उनीहरूको सम्पर्क नम्बरसमेत संकलन गरेको छ । महाशाखाका प्रमुख वीरेन्द्रबाबु श्रेष्ठले उपत्यकामा हुने अपहरण, जबर्जस्ती चन्दा असुलीलगायतका अपराधमा गुन्डाहरूको सक्रियता बढ्दै गएकाले विशेष टोली गठन गरी अभियानको प्रारम्भ गरिएको बताए । उनले नयाँ पत्रिकासित भने, 'अब उपत्यकाका गुन्डाहरूका लागि दुईवटा मात्र विकल्प छन्- कि सुध्रने कि उपत्यका छोडेर भाग्ने ।'एसपी चन्दले विभिन्न अभियोगमा पक्राउ परेका, प्रहरीको आफ्नै सञ्जालबाट प्राप्त जानकारी र उजुरीको आधारमा 'गुन्डा'हरूको नामावली तयार पारिएको बताए । संकलित नाममध्ये उच्च प्राथमिकतामा २० जनालाई राखेर अनुगमन र निगरानी सुरु गरिएको चन्दको दाबी छ । तर, उनले ती २० जनाको नाम भने सार्वजनिक गर्न चाहेनन् । तर, स्रोतले उपलब्ध गराएको प्रहरी रिपोर्टको विवरणअनुसार संगठित अपराधमा संलग्न संगठित गुन्डाहरू भन्दै समूह एमा दीपक मनांगे, दाबा गुरुङ, गणेश लामा, तीर्थ लामा, विष्णु लामा, बाघे लामा, लालकाजी र सेक्सी मिलनको नाम राखिएको छ । समूह बीमा तीर्थमान तामाङ, मुक्तिसंग्राम विष्ट, टोकल लामा, फुल्छेन लामा, सत्यनारायण मानन्धर, अनिल थापा, जसवन्त गुरुङ, मिलन टीको नाम उल्लेख छ । समूह सीमा अर्जुन श्रेष्ठ, अमृत लामा, कान्छा लामा र धनबहादुर मगरको नाम छ । समूह डीमा हत्याको आरोपमा फरार अभियुक्त राजु गोर्खालीसहित विनोद श्रेष्ठ, प्रदीप थापा, मधुकर, विष्णु मानन्धर र साजन महर्जनको नाम छ ।समूह ईमा पंकी गुरुङ, रिंगी गुरुङ, भीम गुरुङ, सरोज सत्याल र चाइनिजको नाम छ । चाइनिज अहिले अपहरणको अभियोगमा कारागारमा छन् । समूह एफमा मीनकृष्ण महर्जन, लायन्स महर्जन, दधि महर्जन र शंकर महर्जन छन् ।समूह जीमा चक्रे मिलन, सञ्जय मानन्धर, डबलुसिंह गुरुङ, सन्ते राना, चरी उपनाम रहेका दिनेश अधिकारी र कुमार घैंटेको नाम उल्लेख छ । घैंटे दरबारमार्गमा गोली हानेको अभियोगमा प्रहरीको खोजीको सूचीमा परेपछि अहिले फरार छन् । स्रोतका अनुसार उनी अहिले दुबईमा बसेर नेपालमा धन्दा चलाइरहेका छन् ।समूह एचमा राजेश लामा र तेजमान लामाको नाम छ । प्रहरी स्रोतका अनुसार गणेश लामाको समूहलाई 'काभ्रेली ग्रुप' नामकरण गरी सातजनाको नाम समावेश गरिएको छ । काभ्रेली ग्रुपमा गणेश लामा, विष्णु लामा, दावा लामा, उमेश लामा, जित लामा, सञ्जय लामा र सञ्जीव लामाको नाम उल्लेख छ । यो समूहको संरक्षक उल्लेख गरिएको छैन । थाली ग्याङमा अनिल हेक्का र सगुन श्रेष्ठको नाम छ । 'अन्य गुन्डाहरू'को सूचीमा ११ जनाको नाम उल्लेख छ । उनीहरूमा विज्ञान श्रेष्ठ, मनोज तुलाधर, महारानी डंगोल, भरत श्रेष्ठ, दुर्गा तामाङ, राजु भोटे, सोल्टी गुरुङ, विनोद पन्त, दमन बस्नेत र खड्ग रायमाझीको नाम उल्लेख छ । उनीहरू अन्य समूहकै सिको गर्दै अपराधको दुनियाँमा रहेका तर भाडामा परिचालित हुने गरेको उल्लेख छ । प्रहरीले गुन्डाविरुद्धको विशेष अप्रेसनको मुख्य पाटो उनीहरूको आम्दानीको मुख्य पाटोको पहिचान गरी ध्वस्त गर्ने रणनीति लिएको छ । मुख्यतया उनीहरू होटल, वैदेशिक रोजगार, ठेक्कापट्टा, बालुवाखानी सञ्चालन र रात्रिकालीन व्यवसायमा संलग्न रहेको प्रहरीको दाबी छ । एसएसपी श्रेष्ठले भने, 'हामीले अहिले उनीहरूलाई नियमित निगरानीमा राखिराखेका छौँ । कुनै अपराधमा सक्रिय भएको प्रमाण फेला परेलगत्तै पक्राउ गर्छौं ।'
No comments:
Post a Comment