HARI BAMSA ACHARYA
मह जोडी नेपाली हाँस्य कलाकारीताको क्षेत्रको यस्तो जोडी हो जसले आफ्नो सिर्जनामा नाम जस्तै मिठो र गुलियो स्वाद पस्कने गर्दछ। हुन त मह जोडी बाट 'म' वा 'ह' जुन लाई छुटाए पनि अधुरो र अपुरो हुन्छ तर पनि हामीले EMAJJA BIOGRAPHY अन्तर्गत यस पटक हरिवंश आचार्यको जिवनलाई पछाडी फर्केर हेर्ने प्रयास गरेका छौं।
नेपाली हास्य कलाकारीताको क्षेत्रमा हरिवंश आचार्यको नाम कुनै नौलो नाम होईन। नेपाली कलाकारीताको क्षेत्रमा विगत तिन दशक देखी छाईररहेका हरिवंश आज पनि दर्शक र श्रोता माझ उत्तिकै लोकप्रिय छन। उनी एउटा हाँस्य अभिनेता मात्र नभई एक बहुप्रतिभाशाली व्यक्ति भएको कुरामा कुनै शंका छैन। नाटक होस या टेलिफिल्मको कुनै भुमिका वा फिलमा मा नायक, खलनायक, संवाद लेखन ,निर्देशन, गायन हरिवंश सबै विधामा आफु लाई अब्बल सावेत गरिसकेका छन। आफ्नो(मह जोडीको) पहिलो प्रहसन "ब्याङ्केश्वर" देखि अहिले सम्म सम्म आइपुग्दा हरिवंशले नेपाली माझ जनकलाकारका रूपमा विशिष्ट पहिचान बनाइसकेका छन्। यमलोक, प्यारालाईसिस देखि विज्ञापन, दशैँ, १५ गते, भकुण्डे भूत, रात, लक्ष्मी, लालपुर्जा, कान्तिपुर, राजमार्ग, टिकेको तीन मन्त्र या अन्य प्रस्तुति सबैले दर्शकमा अमिट छाप छाडेका छन्। तीन दर्जनभन्दा बढी टेलिसिरियल, डेढ दर्जन चलचित्र र सयौं रङ्गमञ्चका प्रस्तुतिहरूले विषयवस्तु र अभिनय क्षमताका कारण पनि दर्शकमा अमिट छाप छाडेका छन्। दर्शकको बढ्दो मागकै कारण महका पुराना प्रस्तुतिहरूको अडियो बजारमा आएको छ भने पुराना टेलिसिरियलहरू पुनः प्रसारणको पालो पर्खेर बसेका छन्। यो सहयात्रामा आफ्नो प्रतिभा लिएर संसारका ३१ देशमा पुगिसकेका छन् मह। हरिवंश भन्छन्,“समाजमा लगातार नयाँ पुस्ताको उदय भइरहे पनि हाम्रा प्रस्तुतिहरू सबै पुस्ताले निरन्तर आत्मसात् गर्दै लगेकाले हिजो जत्तिकै जनताको माया आज पनि पाइरहेका छौँ।”
बाल्यकाल:हरिवंश आचार्यको जन्म २०१४ साल कार्तिक १७ गते काठमाडौंको टंगाल, गैह्रीधारामा बुबा होमन्जय आचार्य र आमा गणेश कुमारीको कोख बाट भएको थियो। हरिवंश आचार्यको पुर्खौली घर भने काभ्रेको सांखु मा हो। हरिवंश ६ वर्षको हुँदा हरिवंश लाई पितृशोक र ११ वर्षको हुँदा मातृशोक परेको थियो। सानै उमेरमा आफ्ना बाबा आमाको माया बाट वाञ्चित आचार्य त्यस पछिको केही समय आफ्ना दुई दिदीहरुको साथमा बितेको थियो भने पछि ठूली दिदीको बिहे भए पछि कान्छी दिदी विन्दु आचार्यका साथ हरिवंशको समय बितेको थियो। विविध कारणले टंगालको घर बेच्नु परेपछि हरिवंश पछि नक्साल तिर सरेका थिए। कहिले पद्दमोदय र कहिले शान्ती गृह गर्दै हरिवंश एस. एल. सी. परिक्षामा सामेल भए पनि २०३२ र २०३३ पास नभए पछि २०३४ सालमा परिक्षा नै दिएनन र २०३५ सालमा एस. एल. सी. परिक्षा उतिर्ण गरे। सानै छँदा बुबा–आमा दुवैलाई गुमाएका हरिवंशले जीविकोपार्जन गर्न कलिलै उमेरमा अनेकौँ काम गर्नु परेको थियो।
कला क्षेत्रमा प्रवेश:स्कुलमा हुंदा देखी नै आफ्ना टिचरहरुको क्यारिकेचर गर्ने, जिस्काउने, रमाउने हरिवंशलाई त्यती बेला कला संस्कृतीको बारेमा त्यती ज्ञान थिएन। उनी सुरुआती दिनमा राति-राति सडकमा हिँड्दा कुकुरको आवाज निकालेर सडककै 'भुस्याहा' कुकुरलाई जिस्क्याउँथे। उनको यो बानी र प्रतिभा पछि गएर काम लाग्ला भनेर नसोचे पनि त्यति बेलै स्कुलको बार्षिकोत्सवको बेला देखाईने नाटकमा कुकुरको आवाज निकाल्न नसकेर साँच्चीकै कुकुरलाई मञ्च पछाडी पिटेर आवाज निकालेको देखेर हरिवंशको एक जना साथीले हरिवंशले कुकुरको आवाज आयोजकहरु लाई निकाल्न सक्ने कुरा बताएका थिए। त्यस पछि त्यस कार्यक्रममा हरिवंशले आफ्नो प्रतिभा देखाई हाले। यो नै रङमञ्चमा हरिवंशको पहिलो कला प्रदर्शन थियो। त्यस काम बाट धेरैको वाहवाही र प्रमाण पत्र पाए पछि भने रङमञ्चमा कला देखाए सम्मान पाईने रहेछ भन्ने विचार उनमा आयो।
त्यस पछी आफ्नो नजिक टोल छिमेकमा हुने धेरै जसो कार्यक्रममा आफैले अनुरोध गर्दै आफ्नो कला प्रस्तुत गर्न थाले। ०३१ सालतिर हरिप्रसाद रिमाल, जितेन्द्र महत अभिलासीसँग रेडियोमा नाटकहरू गरेका उनी एक वर्षपछि राष्ट्रिय नाचघरमा जागिर खान पुगेका थिए। त्यती बेला हरि प्रसाद रिमाल रेडियो नेपालको नाटक निर्देशक थिए। यसै क्रममा २०३३ सालमा गाईजात्रा महोत्सव हेर्न पुगेका हरिवंशले त्यो कार्यक्रम हेरे पछि आफुले पनि आफ्नो प्रतिभा देखाउने जाँगर चलेको थियो। त्यस पछि २०३४ सालमा हरिवंशले आफ्नो एकल प्रहसन "आधुनिक श्राद्द" गाइजात्रे महोत्सवमा प्रस्तुत गरे र फलस्वरुप गोल्ड मेडल हात पारे। त्यस पछि लगातार चार वर्श हरिवंशले गाइजात्रे महोत्सवमा गोल्ड मेडल हात पारेका थिए।
मदन कृष्ण श्रेष्ठ सँगको सहकार्य:मदनकृष्णसँग सहयात्रा गर्नुअघिका ६ वर्ष हरिवंशले कला क्षेत्रमा एक्लै सङ्घर्ष गरेका थिए। मदनकृष्ण र हरिवंशको भेट शुरुमा ०३३ सालमा मञ्चमै भएको थियो। पहिलो पटक एउटै हास्यव्यङ्ग्य कार्यक्रम लिएर मञ्चमा एकै पटक प्रस्तुत हुने संयोग भने १४ वैशाख २०३७ मा उनीहरूलाई जुरेको हो। हरिवंश त्यती बेलाका नेपाल राष्ट्र बैङकका विशिष्ट श्रेणीका अधिकृत रुबी जोशीको अनुरोशमा नेपाल राष्ट्र बैङकको रजत जयन्ती समारोहमा आफ्नो प्रहसन प्रस्तुत गर्न पुगेका थिए तर राजा पनि हेर्न आउने र समय छोटो भएका कारण अलग–अलग कार्यक्रम दिन समय अभाव भएपछि रुवी जोशीको अनुरोधमा दुवैले संयुक्त रूपमा "ब्याङ्केश्वर" नामक प्रहसन प्रस्तुत गरेका थिए। यही मञ्चबाट दुवैको सहयात्रा शुरु भएपनि मदनकृष्णले २०२२ सालबाटै र हरिवंशले २०३१ सालदेखि कलायात्रा शुरु गरेका हुन्। मदनकृष्ण सँगको पहिलो प्रस्तुति दर्शकले निक्कै रुचाएका कारण सहयात्रा शुरु भएको उनी बताउँछन्। हरिवंश भन्छन्, “ब्याङ्केश्वर पछि गाईजात्रा महोत्सवमा एकैसाथ "यमलोक" र "प्यारालाइसिस" देखाएपछि हाम्रो सहयात्राले गति लियो।” त्यसपछि एक्ला–एक्लै भन्दा साथ–साथ प्रस्तुत हुँदा नामसँगै दाम पनि निक्कै पाउन थालेपछि दुवै हौसिए।
त्यस पछि हरिवंश र मदनकृष्णको सहकार्यले निरन्तरता पाउँदै गयो र मह जोडीको दोस्रो प्रहसन "यमलोक" पछि "प्यारालाईसिस", "अंशबन्डा" आदी गर्दै निरन्तरता पाउँदै गयो। मह जोडीले निकालेका गाइजात्रे अडियो क्यासेटहरुले पनि राम्रो बजार पाउन थाले पछि भने हरिवंशको जिवन शैलीमा नै परिवर्तन ल्याईदियो। २०४० सालतिर एउटा शो गर्दा ५ हजार पाउने मह जोडीले त्यस पछि भने त्यसको तीनवर्षभित्रै एउटा कार्यक्रमका आयोजकले एक लाख दिन थाले। सँग सँगै काम थालेपछि महले पछाडि फर्केर हेर्नै परेन, सहयात्राले आर्थिक उन्नतिको बाटो पनि खोल्यो। हुन पनि भिडियो, टेलिभिजन नभएको त्यो समयमा मञ्चमा महको भाउ ह्वात्तै आकासियो। २०३७ सालमा गाईजात्रामा प्रस्तुत गरेको प्रहसन "यमलोक" आफैँले अडियोमा रेकर्ड गरेर बेच्दा १ लाख ५० हजार प्रति एल्बम हाताहात बिक्री भएको थियो। नेपालमा हास्यव्यङ्ग्यलाई अडियोमा ल्याउने श्रेय यो जोडीलाई नै जान्छ। देशभरका मञ्चहरूमा सयौं पटक प्रदर्शन गरिएको प्रहसन "विज्ञापन"ले मात्र २०४१ सालमा रु ४४ लाखको कारोबार गरेको थियो। सहयात्रा सफल बन्दै जाँदा महका प्रस्तुति भने तत्कालीन पञ्चायती शासकका लागि आँखाको कसिङ्गर बन्दै गएका थिए। २०४१ सालमा नेपाल टेलिभिजनको शुरुवात भए पछि भने मह जोडीको पहिलो टेलिभिजन कार्यक्रम "फिफ्टी-फिफ्टी" प्रशारण भयो। आवाजले मात्रै चिनिदै आएका कलाकार त्यस पछि भने सबैको सामु देखिन पनि थाले। कार्यक्रम प्रस्तुत गर्नुअघि स्थानीय प्रशासनमा सेन्सर गराउनुपर्थ्यो। पञ्चायतमाथि व्यङ्ग्य गर्दा उनीहरू हनुमानढोका खोरमा पनि थुनिए। सोही निहुँमा २०४२ सालमा हरिवंशको राष्ट्रिय ब्याङ्कको जागिर खोसियो। शुरुवातमा मञ्चबाट जमेका हरिवंशले रेडियोमा रसरङ्ग जस्तो चर्चित कार्यक्रम पनि चलाएका थिए। यसरी दर्शक–श्रोतामाझ छाइरहँदा भएको टेलिभिजनको प्रवेशले महको प्रतिभालाई अझ विस्तार गरेर लग्यो। वासुदेव, के घर के डेरा देखि ट्रक ड्राइभर, लोभीपापी, बलिदान, फिलिम लगायतका चलचित्रहरूमा पनि यो जोडीले जोडदार अभिनय गरे। बहुप्रतिभाशाली मह अभिनय मात्र हैन, कथा, पटकथा, संवाद लेखन, निर्देशनदेखि चलचित्र निर्माणका सबै काममा पोख्त छन्। तिनका भनाइमा मञ्चमा काम गर्दा सङ्गीत, भेषभूषा, सजावटसमेतको काममा आफैँ लागेर गर्दा मिहिनेत धेरै परेपनि स्तरीयता पस्कन सकिन्छ। हरिवंशको स्वरमा पनि दुई एल्बम निस्किएका छन्।
चलचित्रमा अभिनय:हरिवंश जति आफुले निर्माण गरेका हास्य कार्यक्रममा हसाउन सक्छन त्यती रुवाउने क्षमता पनि उनमा रहेको छ। हरिवंशले कुमारी बाट आफ्नो चलचित्रमा अभिनय यात्राको शुरुवात गरेका थिए तर कुमारीमा उनको एक सिन मात्रै थियो। त्यस पछि बनेका सिंदुर र जिवन रेखामा पनि उनले आफ्नो अभिनय प्रतिभा खासै देखाउने अवसर पाएनन। उनी द्वारा अभिनित चलचित्रहरुमा के घर के डेरा, ट्रक ड्राईभर, लोभी पापी, वासुदेवमा पनि उनले अभिनय गरेका छन। त्यस बाहेक बलिदानमा उनले गरेको अभिनय देखे पछि त कोही पनि प्रशंशा गर्न चुक्दैनन। २०४६ सालको जनआन्दोलनको कथामा बनेको चलचित्र बलिदानमा महलाई नायक बनाउने भन्दा सुन्ने जति सबै हाँसेका थिए तर, बलिदान प्रदर्शन भएपछि हरिवंशको जिवन्त अभिनयका कारण धेरै रोए। महले जनताको चलचित्र भनेर बलिदानमा काम गरेको पारिश्रमिक समेत लिएका थिएनन। त्यस पछि फिलिम, तं त साह्रै बिग्रीस नी बद्री, र जे भो राम्रै भो मा पनि हरिवंशको जिवन्त अभिनय देख्न सकिन्छ।
जनवादी अभिनेता:हरिवंश आचार्य जनताका लागी काम गर्ने कलाकार हुन। हरिवंश आफ्ना प्रस्तुतिले जति देश र जनताप्रति जिम्मेवार छन् व्यक्तिगत रूपमा पनि उत्तिकै निष्कपट, इमान्दार र सच्चा देशभक्त छन्। आज हरिवंशको सफलताको कथा एउटा मिथक नै बन्दै गएको छ। नेपाली समाजको सूक्ष्म चित्रण गर्दै देशको सामाजिक, राजनीतिक विकृतिमाथि प्रहार गर्दै र समाजमा विद्यमान कुरीति, कु–संस्कार र रोगहरू विरुद्ध चेतना लिएर दर्शकमाझ प्रस्तुत हुँदै आएका हरिवंश(मह) साँच्चिकै मह जत्तिकै गुलियो र गुनिलो पनि छन्। सदैव जनताका पक्षधर रहेर काम गर्ने औंलामा गन्न सकिने कलाकारहरु मध्ये हरिवंश(मह जोडी) पनि हुन। २०४६ सालको होस् या २०६२/०६३ को दोस्रो जनआन्दोलन हरिवंश(मह जोडी) सडकमै थिए र जनताका अधिकारका लागी आवाज उठाईरहेकै थिए। उनीहरूले जनआन्दोलन–२ मा घाइतेहरूको उपचारका लागि सहयोग जुटाउन गरेको एउटै आह्वानले केही करोड रुपैयाँ सङ्कलन भयो। महप्रति आमजनताको आकर्षण देखेर कतिले राजनीतिमा लाग्न पनि सल्लाह दीए पनि उनीहरू जनताको विश्वास र भरोसालाई राजनीतिमा लागेर डुबाउन चाहँदैनन् र कुनै पार्टीमा संलग्न पनि नभएको हरिवंश बताउंछन। हरिवंश राजनीतिज्ञलाई सजग बनाएर लैजान राष्ट्रको पहरेदारको रूपमा आफूहरू सदैव रहने बताउँछन्।
वैवाहिक जिवन:हरिवंश आचार्यको विवाह २०४० साल माघ ९ गते मिरा आचार्य सँग भएको हो। पहिले विभिन्न रेडियो स्टेशनमा कार्यक्रम संचालन गर्ने मिरा आचार्य पछि घर टाढा भएकाले जागिर छोडेर घरमै बस्दै आएकि छन। हरिवंश आचार्यका २ छोरा छन, ति मध्ये त्रिलोक आचार्य(22) हाल अमेरिकामा कम्प्युटर साईन्स पढ्दै छन भने अर्का मोहित आचार्य(19)हरिवंशकै बाटो पछ्याउंदै टेलिफिल्ममा खेल्ने, गित गाउने गर्दछन र हाल ए लेभलको परिक्षा दिएर बसेका छन। अहिले हरिवंश आचार्य मह संचार अन्तर्गतको आमा टेलिफिल्मको सुटिङमा व्यस्त छन। यो टेलिफिल्म आउँदो जनवरीको तेस्रो हप्ता देखी कान्तिपुर टेलिभिजनमा प्रसारण hudaichha .
No comments:
Post a Comment